From the Media

गजेन्द्रको दोस्रो इनिङ

नेपालन्यूज.कम

पारिलो घाम पश्चिमतिरबाट छड्के पर्दै झ्यालबाट भित्रै छिरेको थियो। न्यानो घामको तापमा सुतेको बिरालोले मुन्टो उठायो। जाडोयाममा प्रायः ऊ यही बस्छ।

‘ल, आज त माथि जा,’ हामी घरभित्र प्रवेश गर्दैगर्दा गजेन्द्रले बिरालोलाई अह्राए। उसलाई त्यहाँबाट हिँड्न मन थिएन क्यार, अल्छी मान्दै उठ्यो र ढोकाबाट लुरुक्क निस्यो।

गजेन्द्र बुढाथोकी दिउँसो एक्लै हुँदाको साथी हो यो। दिनभरी बिरालो घरवरपर लुटपुट गर्छ, बुढाथोकी आफ्नै काममा भिडिरहन्छन्।

विगत ११ वर्षदेखि बुढाथोकीको जीवनको ‘दोस्रो इनिङ’ चलिरहेको छ। अर्थात्, जीवनमा त्यो ‘प्रलय’ आएपछि आधा शरीर नचल्ने भयो। यताउता गर्न ह्विलचियरको सहारा लिनुपर्छ।

त्यसैले त उनी यसलाई जीवनको ‘दोस्रो इनिङ’ भन्छन्। अर्थात् मृत्युलाई जितेर पाएको अर्को जीवन।

उनलाई लाग्छ यो जीवनमा गुमाएको एउटै कुरा हो- हिँड्डुल गर्न नसक्नु। अन्य कुरा त ‘भरिपूर्ण’ नै छ। घर, परिवार, साथीभाइ, समाज, क्षमता सबै छ उनीसँग।

गएको शनिबार काठमाडौं, कपनस्थित पाथिभरा कोलोनीमा उनको घर पुग्दा आफ्नो दैनिक कार्यमा व्यस्त थिए। बिस्तराभरी त्यसदिनका पत्रिका छरिएका। कम्प्युटर स्क्रिनमा राजपत्रको कुनै अङ्‍क खुलेको। कुनापट्टीको दराजमा अर्थतन्त्रबारे लेखिएका किताब ठडिएका थिए।

‘आउनुस् बसौं, यस्तै छ मेरो काम,’ ४३ वर्षीय पत्रकार बुढाथोकीले आफ्नै कामलाई चिनाए।

डिजिटलमय छ दुनियाँ। त्यसको सकेसम्मको फाइदा उनले लिइरहेका छन्। घरमै बसेर जागिर, पत्रकारिता, लेखपढ्, अनुसन्धान, अध्ययन सम्पूर्ण काम भ्याइरहेका छन्। हप्ताको एक दिन कलेज पढाउन जान्छन्।

बेलाबेलामा विभिन्न सङ्घसंस्थामा ‘मोटिभेसनल स्पिच’ दिन्छन्। स्कुल कलेजका भाइबहिनासँग सात्क्षाकार पनि गर्छन्।

देशको अर्थतन्त्रको विषयमा लेखरचना, सामाजिक सञ्जालदेखि औपचारिक कार्यक्रममा बहस गर्छन्।

सिक्नेक्रम कहिल्यै सकिँदैन तर जीवनको दोस्रो इनिङमा उनले आत्मसन्तुष्टी हुनेगरी सफलता पाएका छन्। यसमा उनी खुसी छन्।

त्यो घटना

अघिल्लो रात उडिरहेको जहाज आकाशबाट एक्कासी खस्यो। छेवैमा एक ठूलो सिमलको रुख थियो। त्यसैको छेउमा उनकी बहिनी। ‘लौ बहिनीलाई केही हुने हो कि’ सोच्दासोच्दै बहिनीलाई तानेर बचाए।

तर, जहाजमा लागेको आगोले उनको ढाडमा पोल्यो। उनी अत्तालिदै उत्तानो परे र आगो निभाए।

त्यो घटनाले निकै झस्किए।

बिहानै उठेर त्यो सपना कान्छो जेठानलाई सुनाए। ‘ए, फिल्मको दृश्य जस्तो पो भएछ त,’ जेठानले मुस्कुराउँदै भने।

सपनाको दृश्यले श्रीमती कुन्ताकाे मनमा भने चिसो पसेको थियो।

‘खराब सपना देख्‍नुभएको छ, मोटरसाइकल नलैजानु,’ श्रीमतीले अफिस जाने बेलामा ढोकैमा उभिएर भनिन्।

२०६५ असोज ८, बुधबारको दिन थियो। त्यसदिन दिउँसैदेखि मुसलधारे पानीले काठमाडौंलाई छोपेको थियो।

उनलाई भने नगइनहुने एक कार्यक्रमको चिन्ता थियो। काठमाडौंमा पहिलो हाइड्रोपावर समिट चलिरहेको थियो।

श्रीमतीको त्यो आग्रहपछि बुढाथोकीले अफिसका साथीहरूलाई फोन गरे, ‘मलाई अलि सन्चो भएन, त्यो समिटको कार्यक्रममा गइदेऊ न।’ साथीहरू भने आफ्नो व्यस्तता देखाए।

मुलुकमै पहिलो हाइड्रोपावर समिट उनको लागि महत्त्वपूर्ण कार्यक्रम थियो। छुटाउन मन लागेन। अन्य केही सीप नलागेपछि उनी मोटरसाइकल लिएरै निस्किए।

अन्नपूर्ण होटलमा भएको कार्यक्रम बेलुका अबेरसम्मै थियो। अफिस जान अलि हतारो हुने भयो। राति ९ बजे त्यहीँबाट उनले अफिसमा समाचार टिपाए।

उनीसँग अर्का साथी थिए। ती साथी बुढाथोकीसँगै मोटरसाइकलमा जान तयार भए। भर्खर हाफ इन्जिन खोलेको मोटरसाइकल ५ सय किलोमिटर पनि कुदेको थिएन। त्यो मुसलधारे पानीमा साथीलाई पछाडि बोकेर लैजाने आँट उनमा आएन।

‘तपाईं आज नजानुस्,’ उनले आग्रह गरे। साथी गएनन्। बुढाथोकी अन्नपूर्ण होटलको गेटबाट बाहिरिए।

चस्मा लगाएर मोटरसाइल चलाउनेहरूलाई पानी पर्दा झन् गाह्रो हुन्छ। चस्माको सिसा वाफिन्छ। त्यसमाथि भाइजर भएको हेलमेट लगाउँदा अगाडि केही नदेखिने हुन्छ।

बाटोमा उनलाई त्यस्तै समस्या भयो। सडकमा कतै सडक बत्ती थिएनन्। उनी बिजुली अफिस अर्थात् विद्युत प्राधिकरण कार्यालय नजिक पुगेपछि सोचे, ‘सहिद गेट छेउको खाली ठाउँमा सडक बत्ती पनि छ, त्यही बाइक रोक्छु, अनि चस्मा निकालेर पुछ्नुपर्ला।’

मोटरसाइकल खासै ‘स्पिड’मा थिएन। ४० को हाराहारी हुँदो हो। कहिले पनि धेरै स्पिड नचलाउने बुढाथोकी त्यसदिनको मुसलधारे पानीमा झन् ‘एक्सिलेटर’ बढाउने कुरै भएन।

भद्रकाली मोडमा पुग्दा अगाडिबाट एक ठूलो गाडी (ट्रक) हाइबिममा आयो।

‘कस्तो हाइबिममा गाडी आयो,’ उनको मनले सोच्दै थियो।

हाइबिममा आइरहेको गाडीको फोकसले उनलाई छपक्कै छोप्यो। अगाडि केही देखेनन्। अन्धकार भयो। उनी अत्तालिए, एकै पटक हात र खुट्टाको ब्रेक समाए।

Gajendra Budhathoki Old

                                                 तस्बिर: गजेन्द्र बुढाथाेकीकाे सङ्‍ग्रहबाट।

मोटरसाइकल लड्यो, उनी हुत्तिएर पर पुगे। उनको ढाड सडक पेटीमा नराम्ररी बज्रियो। उनले शरीर चलाउन सकेनन्।

पाइन्टबाहिर रेनकोट लगाएका थिए। पाइन्टको गोजीमा भएको मोबाइल झिके। श्रीमतीलाई फोन गरेर भने, ‘मेरो दुर्घटना भयो। तिमी तुरुन्त आऊ।’

दुर्घटना भयो भन्दै वरिपरिका मान्छेहरू झुम्मिए। उनलाई वीर अस्पताल लगियो। ‘केही भएको छैन, सामान्य हो,’ डाक्टरले प्रतिक्रिया दिए। सामान्य उपचार भयो।

रात छिप्पिदै जाँदा उनको ढाडको दुखाइ बढ्दै गयो। ढाड सुन्निन थाल्यो। अर्को दिन एक्सरे गर्दा ‘स्पाइनल कर्ड इन्जुरी’ भएको रिपोर्ट आयो। मन झसङ्‍ग भयो। शरीर झन् चिसो भयो।

वीरले जोरपाटीस्थित अर्थोपेटिकमा रिफर गर्‍यो, त्यहाँबाट फेरि टिचिङ।

टिचिङमा बसाइ लामो भयो, तर खासै उपचार भएन। ‘२९ दिनसम्म सामान्य पेन किलर खाएर बस्नुपर्‍यो। ‘अपरेसन गर्नु पर्दैन, ढाड आफैं जोडिन्छ,’ डाक्टरले बेलाबेलामा ढाडस् दिन्थे।

अपरेसन गर्नैपर्ने भयो। २९ दिनको दिनपछि बी एन्ड बी अस्पताल लगियो। त्यहाँ उनको अपरेसन भयो।

त्यसपछि जीवनको दोस्रो इनिङ सुरु भयो। अब सधैँभरीको साथी ह्विलचियर हुनेभयो।

काभ्रेपलान्चोकको बनेपामा ‘स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र’ छ। त्यहाँ बुढाथोकी जस्तै बिरामी भएका व्यक्तिलाई जीवन सहज हुने ‘रिहाव’ गराइन्छ। दैनिक कसरी चलाउने, दिसापिसाब कसरी गर्ने, ह्विलचियरलाई कसरी चलाउने, गाडीमा चढ्ने, बिस्तरामा जानेलगायत सबै सिकाइन्छ त्यहाँ। बुढाथोकीले ६ महिना त्यहीँ बिताए।

दोस्रो इनिङको सफलता

घर फर्केको झन्डै दुई हप्तामै उनी नियमित काममा फर्किसकेका थिए। उनलाई दैनिकी डटकमको सम्पादक बन्ने अफर आयो। त्यो अफरलाई गुम्न दिएनन्।

काम गर्न गाह्रो थियो। दिसापिसाब ‘कन्ट्रोल’ हुँदैनथ्यो। तर, जसोतसो गर्नैपर्छ भन्ने उनले सोचे। उनलाई सघाउन श्रीमती सँगसँगै अफिस जान्थिन्। दुःख र मिहेनत गरेर आफ्नो काममा लागिरहे।

‘एक चोटी दुर्घटनामा परेर बाँचेर आएको व्यक्ति। मेरो जीवनको दोस्रो इनिङ चलिरहेको छ,’ आफ्नै कोठामा विगतका सङ्‍घर्षलाई सम्झिए।


दुर्घटना परेपछि जिन्दगी नै सकिने होइन। यसपछि पनि केही गर्न सक्छु भन्ने हुनुपर्छ। तर, त्यसमा हौसलाको ठूलो भूमिका हुन्छ। उनको आफ्नो अनुभवले भन्छ, ‘परिवार, साथीभाइ र समाजले साथ दिने हो भने अपाङ्‍ग भएका व्यक्ति सजिलै जिउन सक्छन्।’


‘दोस्रो इनिङ’मा कसरी आफूलाई ‘ग्रुम’ गर्नुभयो?,’ प्रश्नलाई उनले दुई तरिकाले व्याख्या गरे।

पहिलो, हिजोसम्म हिँडिरहेको मान्छे, एकै पटक ह्विलचियरमा आयो। बलेनीमा लडेको थोत्रो स्कुटीजस्तो भयो जीवन। झ्याल बाहिर लडेको स्कुटीलाई देखाउँदै उनले भने, ‘त्यसको स्याहारसुसार नगर्ने हो भने खिया परेर जान्छ।’

ठूलो दुर्घटनापछिको जीवनमा सकारात्मक सोच र हौसला नदिने हो भने त्यही जीवन त्यही थोत्रो स्कुटी नबन्नला भन्न सकिँदैन। त्यो सक्रिय दौडधुप, भेटघाट, जिन्दगीको त्यो रफ्तारमा एकै पटक ब्रेक लाग्यो।

दुर्घटनापछिका दिनमा मनमा नानाथरी सोच नआएका होइनन्। एकताका त उनी डिप्रेसनमै गए। तर, त्यसलाई थामेर राख्ने शक्ति पनि उनमा थियो।

त्यो डिप्रेसनको समस्यामा पर्न नदिन साथीहरूले काम गरे। ‘हे, गजेन्द्र, यो मात्र जिन्दगी होइन, तिमीले धेरै गर्न सक्छौं,’ साथीहरूले हौसाए,’ तिम्रा हात चलिरहेका छन्, तिमी पहिलेजस्तै लेखपढ् गर्न सक्छौं।’

साथीहरूले किताब बोकेर आउन थाले। पहिले सङ्‍गत भएका अर्थविद्हरूले साथीजस्तो व्यवहार गरेर सधैँ हौसला दिइरहे।

हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा हुन्छ। बुढाथोकीमा भएको पत्रकारिता र लेखन जस्तै। त्यो क्षमता लुकेको हुन्छ, महसुस नगरेको मात्र हुनसक्छ। जब मान्छे ‘अपाङ्‍ग’ हुन्छ, त्यसपछि त्यो लुकेको प्रतिभा प्रयोग गर्न सक्छ भन्ने लाग्छ बुढाथोकीलाई।

Gajendra Budhathoki latest

दुर्घटना परेपछि जिन्दगी नै सकिने होइन। यसपछि पनि केही गर्न सक्छु भन्ने हुनुपर्छ।

तर, त्यसमा हौसलाको ठूलो भूमिका हुन्छ। उनको आफ्नो अनुभवले भन्छ, ‘परिवार, साथीभाइ र समाजले साथ दिने हो भने अपाङ्‍ग भएका व्यक्ति सजिलै जिउन सक्छन्।’

उनलाई उनकी श्रीमती कुन्दा, छोरा सुयोगले धेरै ठूलो साथ दिए। दिसापिसाब कन्ट्रोल नहुँदा पनि अनलाइनको सम्पादकका रूपमा काम गरे।

साथीभाइले आर्थिक र मानसिक सहयोग नगरेको भए सायदै उनी यो स्थानमा पुग्थे होला। समुदायले गर्ने सहयोग अझ महत्त्वपूर्ण छ। अपाङ्‍गतामैत्री पूर्वाधार बनाउने काम समुदायको हो।

उनले एक उदाहरण प्रस्तुत गरे। संयुक्त राष्ट्र सङ्‍घले प्रकाशित गरेको एक रिपोर्टले भन्छ, अपाङ्‍ग भएका व्यक्तिको जीवनको लागत ८ देखि ४० प्रतिशतसम्म वृद्धि हुन्छ। अब लागत बढेको यो जीवनलाई समाजमा पूनस्र्थापना गर्न थप पूर्वाधारको आवश्यकता पर्छ।

उनी बसिरहेको घरकै सानो उदाहरण हेरौं। गेटबाट घरको ढोकैमा निस्कने र्‍याप बनाएका छन्। त्यो बनाउँदा थोरै भए पनि बढी खर्च लागेको छ। घर अगाडि पिच बाटो थिएन। त्यो बनाउन नगरपालिकाले सहयोग गर्‍यो।

उनको कोठाको ढोका अन्य सामान्य घरको भन्दा चार औँला चौडाइ धेरै छ। यतिकै कारणले उनी सजिलै ह्विलचियर चलाएर हिँड्न सक्छन्।

ढोकामा बम्पहरू नराख्दा उनी सजिलै ह्विलचियर हिँडाउन सक्छन्। आफ्नो ह्विलचियर किचेनसम्म लैजान सक्छन्, चियानास्ता बनाएर खान सक्छन्।

‘समाजले अपाङ्‍गता समाजको एक अङ्‍ग हो भन्ने स्वीकार गर्नुपर्छ। अनि मात्र अपाङ्‍गतामैत्री वातावरण बन्छ,’ बुढाथोकी भन्छन्।

जीवनमा आफूलाई कहाँनेर उभ्याउने भन्ने कुरा ‘इगो’ले काम गर्दोरहेछ। दुर्घटनामा पर्नुअघि र पछिका केही कुराले उनको मनमा इगो पलाएको थियो। जसलाई उनले जीवनमा ‘पोजेटिभ भाइभ’ पैदा गर्नतर्फ डोहोर्‍याए। ‘मान्छेले इगो राख्यो भने कि मान्छे आफैं ध्वस्त हुन्छ, कि आफ्नै क्षमता विकास गर्छ,’ उनी भन्छन्।

‘अब मेरो हैसियत के त,’ उनको मनमा सधैँ रहिरहन्थ्यो। उनी आफ्नो हैसियत बनाउनतर्फ लागे।

आफूले सक्ने मिहेनत गर्नुको विकल्प थिएन। ‘यति धेरै पढेँ कि, त्यो पढाइ कलेजमा हुन्थ्यो भने विश्वविद्यालयकै उत्कृष्ट हुन्थें होला,’ उनले विगतका सङ्‍घर्ष सम्झँदै भने।

आखिर हातमा आउने सर्टिफिकेटमात्र ठूलो कुरा रहेनछ। उनको मिहेनत र त्यसपछिको सफलताले त्यही सिकाएको छ।

पत्रकारिता क्षेत्रमा लागेको २५ वर्ष पुगेको छ। आर्थिक पत्रकारितामा लाग्दा उनले ‘पब्लिक रिलेसन’मा ध्यान दिए। त्यो बेला आर्थिक क्षेत्रमा दिग्गजहरूसँगको सम्बन्धले अहिलेसम्म काम गरिरहेको छ।

हालका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल, भ्याटको विषयमा महत्त्वपूर्ण काम गरेका डा. रूप खड्का, एडिबीमा कार्यरत कविता शेरचन, अर्थविद् डा. विश्वम्भर प्याकुरेल जस्ता व्यक्तिसँग उनको सङ्‍गत भयो।

‘डा. प्याकुरेल, स्वर्गीय डा. राघवध्वज पन्तले डाटामा खेल्नुपर्छ, अध्ययन गर्नुपर्छ भनेर कान समातेर नै डोर्‍याउनुभयो,’ उनी सम्झन्छन्, ‘त्यसैको फल आर्थिक पत्रकारितामा निखारिदै गएँ।’

दुर्घटनापछिको पत्रकारिता पनि उही रफ्तारमा हिँड्यो। केही शैली फरक पर्‍यो होला, तर दैनिकी डटकमको सम्पादक मात्र भएनन् कारोबार दैनिकमा सम्पादकीय समूहमा समाचार सम्पादक भएर काम गरे, जुन अहिले पनि चलिरहेको छ।

निरन्तररूपमा आर्थिक पत्रकारितामा कलम चलेपछि उनका लेख रचनालाई ‘रिकोजनाइज’ गर्न थालिएको छ। गजेन्द्रले र उनका साथीहरूले मिलेर गरेका आर्थिक वृद्धिदरको ‘प्रोजेक्सन’ तथा आर्थिक सूचाकाङ्‍कहरू मिल्छन् भन्ने जमात बढ्दै गएको छ।

यो स्तरको सीप आफूमा विकास गरिसकेका छन्, गजेन्द्रले। यही सीपले उनले नेपाली आर्थिक पत्रकारिता र आर्थिक क्षेत्रमा चिनाएको मात्र छैन, दैनिकी गुजारासमेत चलिरहेको छ।

आर्थिक क्षेत्रमा केही गर्न सक्छ भन्ने विश्वास दिलाउन सकेका छन्। त्यसैले त विभिन्न जर्नलमा लेख लेख्न अनुरोध आउँछ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले रिपोर्ट तयार गर्न उनलाई नै भन्न थालेका छन्।

उदयपुरदेखि काठमाडौंसम्म

उदयपुर, गाइघाटस्थित बोक्सेमा त्यो बेला जङ्‍गलैजङ्‍गल थियो। ठूलो बाढी आउँथ्यो। त्यही परिवेशमा उनकै शब्दमा एक ‘गरिब परिवार’मा उनको जन्म भयो।

परिवारले जिउनलाई सङ्‍घर्ष गरिरहेको थियो। घरमा मकैको भात पाक्थ्यो। उनलाई भने चामलको भात खान रहर लाग्ने।

केटकेटीको बेलामा उनले आमालाई भन्थे, ‘आमा चामलको भात खाम न!’

‘हुँदैन कान्छा,’ आमाले भन्नुहुन्थ्यो, ‘चामलको भातले रोग लाग्छ।’

आमाले भनेको त्यो कुरा अहिले सम्झन्छन्। पहिले आमाले उनलाई फकाउन रोग लाग्छ भन्नुभयो। अहिले रोगकै कारणले चामलको भात खाँदैनन् उनी।

पछि बुबाले व्यवसाय सुरु गर्नुभयो। विस्तारै परिवारको आर्थिक अवस्था सुधार हुँदैगयो।

त्रियुगा माध्यमिक विद्यालयबाट २०४९ सालमा एसएलसी दिए। उनले जागिरको सुरुआत शिक्षण पेसाबाट भयो। घरकै छेउमा एक प्राथमिक विद्यालय थियो। अहिले त्यो उच्च मावि भइसकेको छ।

ताराकृष्ण पोख्रेल भन्ने समाजसेवी थिए, गाउँमा। उनले युवा केटाहरू बिग्रन्छन भनेर पढाउनुपर्छ भन्थे। उनकै आग्रहमा बुढाथोकीले ६ महिना विद्यालय पढाए।

स्कुल पढाउँदा-पढाउँदै हेलनकेयर इन्टरनेसनलले गाइघाटमा सुत्केरी सामग्री वितरण गर्ने कार्यक्रम लग्यो। रेडक्रसमार्फत् चलेको एक परियोजना थियो त्यो।

सुत्केरी सामग्री बाँढ्ने सामाजिक परिचालक खोज्दा भेट्न गाह्रो भयो। लेखपढ गरेका युवा को-को छन् भनेर गाउँमा खोजी भयो। बुढाथोकी त्यही खोजीमा परे।

१६-१७ वर्षको केटो। सुत्केरी गराउने विधिको तालिम लिए र अन्य सुडेनीलाई तालिम दिने भए। गाउँमा सुत्केरी गराउने विधि सिकाउँदै हिँडे। साथमा सुत्केरी सामग्री बोक्थे।

अहिले ती दिन झलझली आउँछ। केही समयअघि आएको ‘प्याड म्यान’ भन्ने फिल्म हेर्दा उनले त्यही दिन सम्झिए। उनलाई लाग्यो, ‘सुत्केरी म्यान’ भन्ने सिनेमा मेरो नाममा बनाउन सकिन्छ।


नियमित रूपमा मुुलुकको अर्थतन्त्रको बारेमा लेख लेख्दै आएका बुढाथोकीका पुस्तक पनि प्रकाशित छन्। कोठाको दराजमा ‘आर्थिक उदारीकणका २० वर्ष’ शीर्षकको पुस्तक बाहिरै देखिन्थ्यो। समकालीन नेपाली अर्थतन्त्रका किताब निकालेका बुढाथोकी ‘भ्वाइस अफ एसिया’का सहलेखक हुन्।


एक पटक उनी कामको सिलसिलामा सिन्धुली गएका थिए। २०५१ सालतिरको कुरा हो। त्यो बेला सिन्धुलीमा व्यापकरूपमा वन फँडानी भएको थियो।

त्यही वन फँडानीको बारेमा एक लेख लेखे उनले। त्यो बेला उदयपुरमा त्रियुगा अर्धसाप्ताहिक निस्कन्थ्यो। साप्ताहिकका कार्यकारी सम्पादक कौशल चेम्जोङ समक्ष पुगे। सम्पादकलाई लेख देखाए।

सम्पादकले उनको अक्षरको मात्र तारिफ गरेनन्, ‘साह्रै राम्रो लेख लेख्दा रहेछौं,’ भन्ने प्रतिक्रिया दिए। पत्रकारिता क्षेत्रमा धकेल्ने पहिलो व्यक्ति नै उनै चेम्जोङ भएको बुढाथोकी बताउँछन्।

‘अब नियमित लेख,’ सम्पादकले लेखलाई स्वीकृत दिँदै भने, ‘बोक्सेमा रहेका सरकारी कार्यालयमा तास खेल्ने, रक्सी खाने गर्छन्। त्यसको बारेमा लेख।’

त्यतिखेर काठमडौंमा लोकपत्र भन्ने पत्रिका निस्कँदैरहेछ। बुढाथोकीले त्यो खबर पाएका थिए। उदयपुरबाटै महेन्द्र विष्टलाई ‘ट्रङ्‍कल’ गरेर जागिर मागे। ‘एक निवेदन पठाउन त,’ विष्टले भने।

उनी लोकपत्र दैनिकको उदयपुर संवाददाता बने। उनलाई लोकपत्रले प्रतिशब्द २५ पैसाका दरले तलब दिन्थ्यो। तलबी पत्रकारको रूपमा २०५२ सालमा स्ट्रिन्जरले रूपमा काम गरे।

केही समयअघि उनको फेसबुक पेजमा एक कमेन्ट आएको थियो। लोकपत्रका तत्कालीन जिएम बिएन घर्तीले फेसबुक वालमा कमेन्ट लेखे, ‘उदयपुरजस्तो सानो ठाउँमा बसेको एक केटा, कपाल लामो पाल्ने केटा, दिनैपच्छे समाचार पठाउँथ्यो। यो केटाको भावी मैले त्यतिखेरै देखेको थिएँ।’

बुढाथोकीले पाएको पछिल्लो सफलताको तारिफमा आएको थियो त्यो कमेन्ट। जसले उनलाई धेरै भावुक बनायो।

पछि देशान्तर साप्ताहिकको जिल्ला संवाददाता भए। मासिक तलब एक हजार थियो।

एक पटक नेपाल प्रेस इस्टिच्युट (एनपिआइ)को पुरस्कार दिन नेपाल समाचारपत्रका प्रकाशक/सम्पादक पुस्कारलाल श्रेष्ठ विराटनगर पुगेका थिए। पुरस्कृत हुने व्यक्ति उनै बुढाथोकी थिए।

एनपिआइको ‘डेभलपिङ जर्नालिस्ट अफ द इयर’ भनेर ५ हजार राशीको पुरस्कारबाट सम्मानित भए उनी। विराटनगरमा त्यो पुरस्कार दिन एनपिआइको कोषाध्यक्षको रूपमा श्रेष्ठको उपस्थिति थियो।

पुस्करलालले बुढाथोकीलाई भने, ‘काठमाडौंमा विकास पत्रकारिता (आर्थिक) विट हेर्ने पत्रकारको खाँचो छ, काठमाडौं आउनुस्।’

काठमाडौंमा जागिर पनि पाउने र पढ्न पनि पाइने भएपछि २०५४ फागुनमा राजधानी हानिए। समाचारपत्रबाट पत्रकारिता सुरू भयो। जहाँ १२ वर्ष बिताए। त्यसपछि राजधानी दैनिकमा कार्यकारी सम्पादकको रूपमा काम गरे।

२५ वर्षको पत्रकारितामा देशविदेशमा उनको ‘पहिचान’ भएको छ।

सन् १९९६ मा पाँच हजार राशीको एनपिआइ पुरस्कारपछि त्यो क्रम जारी रह्यो। सन् २००४ एसियन डेभपलमेन्ट बैंक इन्स्टिच्युटले ‘डेभलपमेन्ट एसिया जर्नालिजम अवार्ड’बाट सम्मानित गर्‍यो। त्यसको राशी १ हजार ५ सय डलर थियो।

नेपाल सरकारको गरिबी निवारण कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कार, रिपोर्टस् क्लब युवा प्रोत्साहन पुरस्कार, प्रेस काउन्सिलको सशक्त कलम पुरस्कार, रोटरी पत्रकारिता पुरस्कार, नेपाल सरकारबाट २०७३ मा राष्ट्रिय पत्रकारिता पुरस्कारलगायतका पुरस्कारबाट सम्मानित भएका छन् उनी।

नियमित रूपमा मुुलुकको अर्थतन्त्रको बारेमा लेख लेख्दै आएका बुढाथोकीका पुस्तक पनि प्रकाशित छन्। कोठाको दराजमा ‘आर्थिक उदारीकणका २० वर्ष’ शीर्षकको पुस्तक बाहिरै देखिन्थ्यो। समकालीन नेपाली अर्थतन्त्रका किताब निकालेका बुढाथोकी ‘भ्वाइस अफ एसिया’का सहलेखक हुन्। त्यो क्रम जारी छ। ‘नेपालका बजेटहरू’ भन्ने एक किताब पनि उनी लेखिरहेका छन्।

अपाङ्‍गता भएका नागरिकका अधिकार रक्षासम्बन्धी उच्चस्तरीय सहकारी संयन्त्रका सदस्यसमेत रहेको बुढाथोकीले अपाङ्‍गता भएकै कारण ‘दुर्व्यवहार’ भोग्नु परेको छ। अपाङ्‍गता भएका व्यक्तिलाई कोठा पाउन पनि गाह्रो। पाए पनि हेपाहा प्रवृत्ति हुने।

श्रीमतीले बैंकको जागिर सुरु गरेकी थिइन्। त्यहीबाट ऋणधन गरेर भूकम्प जानुभन्दा एक महिनाअघि मात्र उनले कपनको घर किने।

त्यही घरमा उनको दैनिकी चलिरहेको छ। देशविदेशको अर्थतन्त्रको अध्ययन गरिरहेका छन्। सपना ठूलो छैन, तर ह्‍विलचियरमै बसेर पनि उनले आफ्नो ‘गजेन्द्र बुढाथोकी’ नाम बनाएका छन्।

…………
कान्तिपुर टेलिभिजन

ह्विलचेयर सम्पादक गजेन्द्रको पत्रकारिता अनुभव

नेपालआज.कम

Paraplegic Journalist

Nepal’s first wheelchair user journalist .

एक तले घरको बाहिरै थिए उनी । ‘तपाईहरुलाई घर चिन्न गाह्रो होला भनेर बाहिरै बसेको ।’ पहिलो भेटमै उनि फरासिलो देखिए ।

बस्न नपाउंदै उनले सोधे, ‘क्यामरामा पनि लिने हो ?’ सँगै बस्ने नाताले छोरी पर्ने अप्सरा राउतलाई चिया पकाउन अर्याउँदै गजेन्द्रले ह्विलचेयर ठेले र भित्र पसे । एक छिन हराए । केही बेरमा आउंदा उनि अर्कै भइसकेका थिए । झुस्स दाह्री फालेर सफाचट उनलाई भादगाऊँले टोपी खुबै सुहाएको थियो । ।

धेरैको अन्तरवार्ता गरिसकेका उनको पहिरनप्रतिको सचेतना स्वभाविक थियो । पत्रकारप्रतिको माया पनि उस्तै थियो । उनि अर्थात कारोबार दैनिकका समाचार सम्पादक गजेन्द्र बुढाथोकीसँग त्यसपछि गफगाफ शुरु भयो ।

पत्रकारिताको दुःखसुख नजिकबाट नियालेका उनले जीबनको पोको फुकाए । ‘पत्रकारिता नशा हो, लागेपछि छोड्न नसकिने रहेछ ।’ पत्रकारिताकै शिलशिलामा ह्विलचेयरको जीबनमा पुगेका गजेन्द्रले सार सुनाए, ‘यो घर बुढीले बनाएकी हुन । उनकै भरथेकमा जीबन चलेको छ । पत्रकारको जीबन समाजसेवा नै रहेछ ।’

गजेन्द्र बुढाथोकी पत्रकारिता क्षेत्रमा चिनिएका र गनिएका पात्र हुन । उनको अलग पहिचान छ । उनी अपाङ्गता भएका पत्रकार हुन । उनी हिड्न सक्दैनन । उनको खुट्टा भनेकै ह्विल चेयर हो । खुट्टा छन तर शरीर बोक्न सक्दैनन । सकसपूर्ण जिन्दगीमा संर्घषको अद्भुत अनुभव गरेका गजेन्द्र जन्मजात अपाङ्ग थिएनन् ।

गजेन्द्र बुढाथोकी उदयपूरको गाइघाटमा जन्मिए । गाइघाटकै सामान्य विद्यालय र कलेजमा पढे । सामान्य परिवारमा जन्मेका उनको सपना पनि सामान्य नै थियो । उनका बाबु व्यापारी थिए । उदयपूरमा गाडि नगुड्ने समयमा सेतो घोडाबाट उनका बाबुले खाद्यन्न ल्याउने गर्दथे । बाटो बनेपछि त्यो व्यवसाय पनि ओइलायो । त्यो व्यवसाय आइलाएपछि उनका बाबुले किराना पसल खोले । किराना पसलबाट गुजारा गर्दै आएको बुढाथोकी परिवारले एक पछि अर्को गर्दै फड्को मार्दै गयो । गजेन्द्र बुझ्ने भइसकेका थिए । लक्ष्यलाई चुनेर अघि बढ्ने समय आइसकेको थियो । परिवारको जिम्मेवारी र भारलाई बोकेर उनले २०५४ सालमा उदयपुर छोडे । झड्के झोला भिरेर सपनाको शहर काठमाडौँ भासिए । सरकारी जागिर खाने हुटहुटी थियो । बुबाले व्यापार गरेकाले व्यवसायमै लाग्ने सम्भावनापनि छंदै थियो । तर, उनी नत पहिले सोचे जस्तो सरकारी जागिरतर्फ लागे नत बुबाको बिडो थाम्ने व्यापारी नै बन्न सके । उनको भित्री ईच्छा बेग्लै थियो । काठमाडौं आएपछि सुषुप्त सो ईच्छा ज्वाराभाटा जस्तो जागृत भयो ।

उनी कलमी मान्छे बने, पत्रकारिताको बाटोमा अघि बढे । पत्रकारिताको प्रारम्भिक अभ्यास उदयपुर छंदै गरिसकेका थिए । गजेन्द्रलाई पत्रकार हुन पाएकोमा गर्व छ । भन्छन, ‘भाग्यले म पत्रकार बन्न सके ।’ किशोरवयको उत्तरार्धमा उनले आफुमा लेखन क्षमता रहेको महशुश गरे । यही क्षेत्रमा अघि बढ्ने निधो गरे । संर्घषपूर्ण मोडमा उनले पत्रकारिता शुरु गरे । बाबुको बिडो थाम्ने व्यवसायी बन्न नसकेपनि उनि व्यवसाय र व्यवसायीका बारेमा लेख्ने पत्रकार भए । गाइघाटमा सुखमदुखम हुर्केका गजेन्द्रले धनीका कुरा लेखे । धनको रहस्य बुझे । गाऊघरका उनि हरेक दिनजस्तो पाँचतारे होटलमा जान थाले । अचम्म उनलाई कहिल्यै द्रव्यले तानेन । धनको लोभमा उनि भासिएनन् । भन्छन, ‘पत्रकारिताकै सिलसिलामा धेरै करोडपतिहरुसगँ संगत गरियो तर, करोडपति बन्ने सपना कहिल्यै पालिएन ।’ पत्रकारिताबाट उनले नकमाएका होइनन् । प्रशस्त्रै कमाए । तर, उनले धन होइन, मनकारी मित्र कमाए । धनसम्पत्ति भन्दापनि मित्रता माथि हुंने उनको गहिरो बुझाइ र व्यवहारिक अनुभव छ ।

जीबनको अकल्पनीय मोड

पत्रकारितामा उनि सघंर्ष गर्दै थिए, स्थापित हुने क्रममा थिए । काम नै धर्म हो भन्ने मनन गरेका उनि पत्रकारिताको रफ्तार यात्रामा थिए । उनि ब्रेकिङका लागि खुब दौडधुप गर्थे । गतिशिल उनको जिन्दगीमा नराम्रसँग ब्रेक लाग्यो ।

२०६५ साल असोज ८ गते काठमाण्डौमा पहिलो हाइड्रोपावर समिटको कार्यक्रम थियो । त्यसमा उनी राजधानी दैनिकबाट सहभागि भएका थिए । कार्यक्रम राति साढे ८ मा सकियो । उनी फर्किने क्रममा थिए । भद्रकालीको टर्निङमा एउटा गाडीले उनको मोटरसाइकललाई ठक्कर दियो । गलत दिशाबाट आएको सो गाडीले गजेन्द्रको जीबनमा बज्रपात निम्ताइदियो । गजेन्द्रको मेरुदण्ड भाँचियो ।

गजेन्द्र भर्खर ३० लागेका थिए । छोरा, छोरी र श्रीमतीसहितको सानो परिवार खुशी थियो । केही गर्ने जोश र आँट बोकेका गजेन्द्र उत्साहित थिए । तर, नियतिलाई यो सब मन्जुर भएन । जीबनमा अकल्पनिय परीक्षामा उनि सामेल भए । अस्पतालको शैष्यामा उनि अनेक कुरा कल्पना गर्थे । घरिरि जीबन व्यर्थजस्तो देखिन्थ्यो । ‘ढाडै नभएपछि जीबन कसरि चल्छ ?’ उनको मानसपटलमा कालो बादल मडारिन्थ्यो । सोच्दासोच्दै आँखाबाट आँशु बर्बरी खसिसकेको हुन्थ्यो । गजेन्द्र त्यतिबेलाको पीडा सम्झदै भन्छन ‘ मेरो मेरुदण्ड मात्र भाचिएको थिएन । पूरा परिवारको सिंगो जग भाचिँएको थियो ।’ जिन्दगीले उनलाई अन्याय गरेको थियो ।

साथले माथ गरिदियो पीडा

अस्पतालको शैष्यामा उनले नयाँ पाठ सिके । साथ र आत्मसाथको अन्तरसम्बन्ध । आफुभन्दा अरुको भरथेग साथ हो, आफैंले आफैंलाई गर्ने सहयोग आत्मसाथ हो । उनले आफुलाई साथ दिए, सकारात्मक ढंगले सोच्न थाले । जसका लागि श्रीमती कुन्ता थापाले सबैभन्दा धेरै साथ दिइन् । बाँकी जीबनपनि अर्थपूर्ण बनाउन सकिने भन्दै हौस्याइन । ‘सोच सकारात्मक भएपछि शरीर गलेपनि मान्छे थाक्दोरहेनछ ।’ कुराकानी चल्दै गर्दा गजेन्द्र गम्भीर बने, ‘श्रीमतीले मलाई कहिल्यै अपाङ्ग भएको कुरा महशुश हुन दिइनन् । जीवनको हर घडिमा खुट्टा नचले पनि दिमागले काम गर्छ भनेर हौसला दिईन । मेरो हातमा हात मिलाउँदै अघि बढाइन् । आजसम्म पनि निरन्तर मलाई हौसला दिईरहेकी छिन ।’

पत्रकारितबाट गजेन्द्रले मित्र कमाएका थिए । नाङ्लो पसलेदेखि अरबपतिसम्म उनलाई भेट्न आए । उनले भित्रैदेखि महशुश गरे । जनसम्बन्ध पत्रकारिताको महत्वपूर्ण पाटो र धन रहेछ । अस्पताल बसाइमा उनलाई गहिरो अनुभुति भयो ।

अघिपछि धपेडी भएपनि परेको बेलामा पत्रकारिताले भिन्दै मिठास दिंदोरहेछ भन्ने हेक्का उनले जति सायदै कसैले गरेको होस । आगन्तुकहरुले देखाएको सदभावले उनको आत्मबल बढ्दै गयो ।

फेरि पत्रकारिता

आठ महिनामा उनि अस्पतालबाट घर फर्के । केही समय छोरा सुयोगसँग खेलेरै टाइमपास गरे । विस्तारै जीवनले उर्जा प्राप्त गर्यो  । उनी संर्घषबाट पछि हट्ने उनको स्वभाव थिएन । कुजिएर बस्न उनि मन्जुर थिएनन् । पत्रकारिता रगरगमा बसिसकेका थियो । उनि फिल्डमा उत्रिए । तर, फरक पहिचानका साथमाः ह्विलचेयर पत्रकार !

सूचना प्रविधिले पत्रकारितालाई गतिशिल बनाइसकेको थियो । यिनी दौडधुप गर्न सक्दैनथे । फोन र इन्टरनेटको भरपूर उपयोग गरे । कहिलेकाहीं कार्यालयमै उनले सौच गर्नुपथ्र्यो । साथीभाइले घीन नमानिकनै सहयोग गरे । दैनिकी डटकमका सम्पादक हुंदाका  दिनहरु सम्झिदै गर्दा गजेन्द्र भावविभोर भए, ‘कार्यालयमा अशक्त हुदाँहुदैँ पनि कुनै अप्ठ्यारो स्थिति सिर्जना भएन । साथीहरुले दिसापिसाब गराउन घीन मानेनन् । कतिपय अवस्थामा त साथीहरु आफैले सफा गरिदिएका क्षण पनि ताजै छन । यस्तो सहयोगले जीवनमा बाँच्नका लागि थप प्रेरणा मिल्छ ।’

समाजमा शारीरिक अपाङ्गता भएकालाई हेर्ने दृष्टिकोण

ससाना शब्द र व्यवहारलेपनि शारीरिकरुपमा अशक्त व्यक्तिको जीबनमा कति फरक पार्दोरहेछ भन्ने गहिरो अनुभुति गरेका छन् उनले । सरकारी कार्यालयहरु अपाङ्गमैत्री छैनन् । उनले कम्तिमा पनि सिंहदरबार, बैंकिङ र करर्पोरेट  क्षेत्रलाई अपाङ्गमैत्री बनाउन पहल थाले । अझैं भइसकेको छैन ।

यताउता जाँदा मान्छेले गर्ने व्यवहारले चिमोट्ने गर्दछ । कोही क्वारक्वार्ती हेर्छन । कोही फिस्स हास्छन् । हाँसेर खिल्ली उडाउने प्रवृति नेपाली समाजमा अझै पनि विद्यामन छ । गजेन्द्रले पनि यस्ता थुप्रै स्थितिहरुको सामना गरेका छन् । एक पटक उनि फिल्म हेर्न गएका थिए । एकजनाले उनलाई मगन्ते सम्झिए र १० रुपैयाँ दिए । ति व्यक्ति सायद मनकारी थिए । थिए बुझ्दै नबुझी देखाइने दयालेपनि कहिलेकाहीं नराम्रो धक्का दिने गर्दछ ।

बच्चाहरु उनलाई देखेपछि रमिता हेर्न आओ भनेर भीड लाग्थे । शुरुशुरुमा उनलाई दिक्क लाग्थ्यो । अहिले यस्ता कुरा पचिसकेको छ ।

दुर्घटनामा पर्दा ३० का थिए गजेन्द्र । सकस साथ ९ बर्ष बितिसके । अब त सकस नै साथीजस्तो लाग्न थालेको छ । २४ बर्षकी रहरलाग्दी कुन्ताका सामू एकसाथ काखे छोरा र श्रीमानलाई रेखदेख गर्नुपर्ने बाध्यता आइलाग्यो । श्रीमानको रेखदेखमा रमाउनुपर्ने बेलामा दैबले भिन्दै खेल रचिदियो । यि सबै परिश्थितिलाई झेलेर परिवारलाई खुशी बनाउन कुन्ताको करुणा महत्वपूर्ण रह्यो ।

उनको नजरमा पत्रकारिता

गजेन्द्रको जीबन टुक्रियो । तर, उनले पत्रकारितालाई टुक्रन थिएनन् । समाचारलाई बिक्री गर्ने विकृत्तिको विपक्षमा उनि सधैं दृढ रहे । कमाइ खाशै केही नभएका पत्रकारले रातारात महल ठडाएको उनले नजिकबाट देखे । भन्छन्, ‘पैसा नै ठूलो ठानेर कमाउनै मन भए समाचार किन विक्री गर्नु, व्यवसाय थाले भइहाल्यो ।’

गजेन्द्रलाई आर्थिक संकट नपरेको होइन । उनले अनगिन्ती असहज परिश्थितिको सामाना गरेका छन् । तर, पेशाको पासो थापेर उनले पैसा लिएका छैनन । भन्छन, ‘मेरी श्रीमति बिरामी भएर म सगँ सिटामोल किन्ने पैसा पनि थिएन । मैले बरु उनको स्वयंबरको औँठी बेचेँ तर कसैसगँ हात फैलाउन गइन ।’ आफू बिजनेस पत्रकार भएको हुनाले कति मान्छेले यसको घरमा त खाद्यन्नका सामान पनि खरिद गर्नु नपर्ने जस्ता आरोप पनि लगाए । गजेन्द्रको भोगाइ र व्यवहार भने विल्कुल फरक छ । भन्छन, ‘जिन्दगीमा कसैको मागेर र लुटेर खानु हुदैन । पत्रकारहरुले इमान्दारितालाई सदा उच्च स्थानमा राख्न र नैतिकवान हुन सक्नुपर्छ ।’

गजेन्द्र हाल कारोबार दैनिकका सामाचार  सम्पादक हुन । ३९ बर्षिय यि पत्रकारले जीबनमा थुप्रै आरोह अवरोह देखेका छन । सायदै कोही पत्रकारले यस्तो अनुभुति गरेको होस् । उनि थुप्रै ठाऊंमा मिडिया पोलिसीका बारेमा मन्तव्य दिन जाने गर्दछन् । सल्लाहकारको भुमिकामा रहेका छन । पहिले पहिले उनि गाडीमा बसेरै कार्यालय जाने गर्दथे । मेरुदण्डको समस्या बल्झिन थालेपछि उनले घरबाटै कार्यालयको काम गर्दछन । प्रविधिको प्रयोगमा अभ्यस्त गजेन्द्र छिनछिनका घटनाक्रमसँग अपडेट भइरहन्छन् ।

पत्रकारिता उनले आत्म सन्तुष्टिका लागि गरेका हुन । पैसाको पछि लागेको भए उनि व्यापारी हुन्थे, बुबाको सानै व्यापारले उनलाई पैसा तान्ने तागत देखाइसकेको थियो । तर, उनले भिन्दै बाटो रोजे । पैसाभन्दा पेशामाथि भन्ने मर्म बुझे ।

कसैका सामूपनि आँखा जुँधाएर बोल्न सक्ने गरि समाचार लेखे । यिनै कलमबीरले कुराकानी टुग्याउंदै भने, ‘पैसा कमाउनका लागि पत्रकारित गर्ने होइन, आत्म सन्तुष्टिका लागि गर्र्ने हो । पत्रकारलाई ज्याक अफ अल मास्टर अफ नन भनिन्छ । तर, त्यस्तो होइन । हामी सबैतिरको कुरा जान्ने तर एउटा बिधामा अब्बल अर्थात ज्याक अफ अल मास्टर अफ वन हुनुपर्छ ।’ यसो भन्दै गर्दा उनका आँखा केही ठूला देखिए । जोश मुहारमा छल्कियो । केही भन्न खोजे जस्तो र केही लुकाउन खोजेजस्तो भाव प्रष्ट देखिन्थ्यो । उनले लुकाउन सकेनन् । हास्दै भ्याट्ट भने, ‘ कुनै बिधामा दख्खल राख्दा घरमै बसिबसिपनि जागिर खान सकिदोरहेछ । भविश्यमा काम लाग्दोरहेछ ।’

पत्रकारिताका प्रारम्भिक दिन गजेन्द्रकै शब्दमा

२०४९ सालमा एसएलसी दिएलगत्तै करिब ६ महिना शिक्षण गरेँ । २०५० सालमा नजिता निस्क्यो । त्यहीबीचमा वातावरण संरक्षणसम्बन्धी एक्का नामक संस्थाको प्रशिक्षक प्रशिक्षण लिएँ, जसमा भित्ते पत्रिका प्रकासनको एउटा भाग पनि थियो । एक्काका प्रशिक्षकका रूपमा उदयपुर जिल्लाभित्रैका विभिन्न स्कुलदेखि सिरहा, सप्तरी, सिन्धुली, धनुषासम्मका विभिन्न स्कुलहरू पुग्दा वातावरण विनासका विभिन्न पक्षबारे थाह भयो । यो कुरा मैले निबन्धका रूपमा लेखेर उदयपुरकै त्रियुगा अर्धसाप्ताहिकका तत्कालीक प्रकाशक बद्री काफ्लेलाई दिएको थिएँ (तर उनले त्यो अफ्नो झोलामै राखेछन्) ।

हामी सानो हुँदा सप्तरीका वरिष्ठ पत्रकार शिशुप्रसाद देवकोटाको पत्रिका गोरेटो खुब लोकप्रिय थियो । गोरेटोको पनि सुलसुले स्तम्भ खुब लोकप्रिय थियो । अनौपचारिक शैलीमा प्रकासित हुने त्यो स्तम्भले पञ्चायतकालका अञ्चलाधीसदेखि जिल्लाका हाकिमहरूका समेत दोहोलो काढेको थियो । त्यसैले पत्रकारलाई सुलसुले भन्ने चलन थियो । जिल्ला सदरमुकाममै सरकारी कार्यालयहरूका बीचमा घर भएकाले मलाई त्यो सुलसुलेको रोमान्चले तानेको थियो । पत्रकार भनेका खतरा हुन्छन्, सब कुरा थाह पाउँछन् भन्ने परेको थियो ।

कलेजमा पढ्दै गर्दा हामी कलेजमा भित्तेपत्रिका निकाल्थ्यौं । ०५१ सालमा हामी सेकेन्ड इयरमा हुँदा कलेजले स्मारिका निकाल्ने भयो । भाषामा पकड , अलिकता बोल्न, नेतृत्व गर्न, जनसम्पर्कमा अलि सक्रिय भएकाले मलाई सम्पादन समूहमा राखियो । यही क्रममा उदयपुरका वरिष्ठ पत्रकार कौशल चेम्जोङसँग सम्पर्क भयो । उहाँलाई मैले मेरो लेख नछापिएको गुनासो गरेँ, उहाँले फेरि लेख भन्नु भयो । उहाँकै अगाडि मैले करिब अधा घण्टामै अढाइ पेजका स्टोरी तयार पारेर बुझाएँ । मेरो अक्षर सफा र भाषामा कमान्ड देखेर उहाँ प्रभावित हुनुभयो । यसरी लेख्ने हैन केटा, यसरी भनेर मेरै अगाडि सम्पादन गरेर त्यसलाई चिटिक्क बनाइ दिनु भयो र भन्नु भयो: अब नियमित लेख, मसँगै हिड, तलाइ समाचार लेख्न सिकाउँछु भन्नुभयो ।

सुलसुलेको रोमान्स छँदैथियो, हुन्छ भने । जिल्लाका सरकारी कार्यालयहरूमा जानु, त्यहाँ कर्मचारीले काम नगरेको, छिल्लिएर बसेको, तास खेलेर बसेको, रक्सी खाएर कर्मचारीहरू लडेको, सरकारी क्वाटरमा महिला ल्याएर राखेको…यस्ता रिपोर्टिङले म छिट्टै चर्चित पनि भएँ । त्यसै बीचमा मेरा एक जना एक्काका प्रशिक्षक साथीले लोकपत्र दैनिक खुल्न लागेको जानकारी दिए । मैले निवेदन पठाएँ, जवाफमा करारपत्रै पो गयो । प्रतिशब्द २५ पैसाका दरले भुक्तानी हुने गरी ।

धेरैलाई विश्वास नलाग्ला त्यसपछि मैले पूर्णकालीन (भुक्तानी लिने गरी) व्यावसायिक पत्रकारितामै हात हालेँ । बरू थोरै पाइयो होला, कुरियर खर्चमात्र भनेर लिइयो होला, तर यो २२ वर्षमा बिनाभुक्तानी काम गरिएन भन्दा पनि हुन्छ । काठमाडौं र विराटनगरबाट छापिने एउटा दैनिक, केही साप्ताहिकले भने कुरियर, फ्याक्स, फोनको समेत पैसा दिएनन।

प्रस्तुति: कन्चन न्यौपाने

—————————-

पत्रकारितामा झ्न व्यस्त

नेपाल साप्ताहिक

http://nepal.ekantipur.com/news/2017-06-27/20170627090059.html

http://bit.ly/2tQ1UHH

समाचार लेख्न अफिस हुइँकिएका गजेन्द्रको ८ असोज ०६५ पछिका पाँच महिना अस्पताल बास भयो । रिर्पोटिङको दौडधुपमा बित्ने दिन अस्पतालमै थन्कियो । बेडबाटै पत्रपत्रिकाका लागि लेख लेख्थे तर मन कहाँ मान्थ्यो र ? तैपनि सन्तोष नमानी धरै थिएन, किनभने अब प्रत्येक चालमा अरू कसैको सहारा चाहिन्थ्यो । अस्पताल हुँदा त साथीभाइ आउँथे, दिनहरू जसोतसो कट्थ्यो तर घरमा आएपछि पूरै न्यास्रोपन । चरम निराशाले गाँज्न थाल्यो । उम्कन खोज्थे । मुटुमुनिको भाग देख्नासाथ भक्कानो फुट्थ्यो । तर पत्नी कुन्ता थापाको साथ अनि पुस्तकले बिस्तारै मन भुलिन थाल्यो ।

खासगरी आर्थिक पत्रकारितामा दक्ष उनी घरमै उपलब्ध स्रोत–साधनको प्रयोगमार्फत अध्ययन–अनुसन्धानमा अभ्यस्त हुन थाले । ती पल यसरी सम्झिन्छन् उनी, “बिस्तारै ममा पश्चात्ताप र आत्मग्लानिमा पिल्सने कि जे छ, त्यसमै रमाएर अगाडि बढ्ने भन्ने सवाल पैदा भयो । मैले दोस्रो विकल्प रोजेँ ।” त्यही बेला उनी दैनिकी डटकम नामक अनलाइन न्युज पोर्टलको सम्पादकमा नियुक्त भए । आफू एक पाइला हिँड्न सक्दैनथे तर वेबसाइटमा समाचार छिन–छिनमा अपलोड गर्नुपथ्र्यो । यस्तो चुनौतीलाई सामना गर्न सकिन्थ्यो होला र ? भन्छन्, “सकेँ । किनभने मेरो आधा शरीर नचले पनि हात र दिमाग चल्थ्यो नि ।”

बस्थे कलंकीमा, कार्यालय थियो धुम्बाराहीमा । प्रत्येक दिन ह्वीलचेयर चढेर कार्यालय पुग्थे । समाचार लेख्न, सम्पादन गर्न अनि पोस्ट गर्न भ्याईनभ्याई हुन्थ्यो । केही समयपछि कारोबार दैनिकमा जोडिए । त्यसपछि कलंकीबाट मध्यबानेश्वर धाउन थाले । घरबाट सडकसम्म ह्वीलचेयर, त्यसपछि ट्याक्सी अनि कार्यालयको आडैबाट फेरि ह्वीलचेयर । उनलाई कुनै समस्या थिएन तर अफिसले घरबाटै काम गर्ने बन्दोबस्त मिलाइदियो । पत्रिकाको विचार पेज सम्पादकका रूपमा आठ वर्ष काम गरे, घरबाटै । त्यो अवधिमा उनले लेखन र सम्पादनको काम त गरे नै, सँगै अर्थशास्त्रका पुस्तक र जर्नल पनि पढ्न भ्याए । तथ्यांक विश्लेषण गरे । त्यसका प्रतिफल हुन उनका दुई पुस्तक, आर्थिक उदारीकरणको बीस वर्ष र समकालीन नेपाली अर्थतन्त्र । नयाँ पुस्तकको लेखन अन्तिम चरणमा पुगेको छ । भन्छन्, “यस्तो लाग्छ, दुर्घटना नभएको भए रिर्पोटिङमै अल्झिन्थे होला, यति गहन अध्ययन गर्ने र पुस्तक लेख्ने मेसो यति छिटै जुर्दैनथ्यो कि ।”

दुर्घटनाले नै उनको जीवनमा नयाँ पहिचान बनाएको छ । जस्तो, अभिप्रेरक प्रशिक्षणमा ठाउँठाउँ पुग्छन् । जहाँ उनी शारीरिक अपांगता भएकालाई मात्र होइन, सबलांगलाई पनि सफलता र संघर्षका कथा सुनाएर प्रेरणा दिन्छन् । विभिन्न कलेजमा ‘गेस्ट लेक्चरर’का रूपमा आबद्ध छन् । काठमाडौँलाई ह्वीलचेयर अनुकूल सहर बनाउने अभियानमा अग्रसरता लिइरहेका उनी अपांगता मामलासम्बन्धी उच्चस्तरीय संयन्त्रका सल्लाहकार हुन् । इच्छाशक्ति र आँट कतिसम्म बढेको छ भने अघिल्लो वर्ष ह्वीलचेयरबाटै ११ दिन लगाएर अन्नपूर्ण पदयात्रा छिचोलेर आए । दुई पटक आत्महत्याको प्रयास गरेका गजेन्द्र हाँस्दै सुनाउँछन्, “कमाइ पनि बढेको छ । पहिले भाडामा बस्थेँ, अहिले कपनमा आफ्नै कमाइले ह्वीलचेयर अनुकूल घर बनाएको छु ।”

http://bit.ly/2tQ1UHH