आर्थिक पत्रकारिताको विकासक्रम

गजेन्द्र बुढाथोकी

हालैका वर्षहरूमा आर्थिक पत्रकारितामा अभिरुची राख्ने युवाहरूको संख्या बढ्न थालेको छ । आर्थिक पत्रकारितालाई वित्तीय/व्यावसायिक वा आर्थिक (Finacial/Business/Economic) पत्रकारिता भनेर फरक–फरक रूपमा हेर्ने र व्याख्या गर्ने गरिएको भए पनि यो सामान्य भाषामा बुझ््नु पर्दा मुद्रा र त्यसको उपभोगसँग जोडिएको पत्रकारिता अभ्यास हो । मानिसले जब जंगलयुग छाडेर वस्तु विनिमय प्रथालाई अंगाल्यो, त्यसपछि वस्तुसँग जोडिएका सूचना आदान–प्रदान हुन थालेको मानिन्छ, यो नै आर्थिक पत्रकारिताको प्रारम्भीक स्वरूप थियो । विभिन्न ऐतिहासिक अवशेषहरूको उत्खननबाट पुराना गुफाहरूमा माछा वा अन्य कुनै जनावर, विभिन्न वस्तुको आदान–प्रदान वा पाइने दिशाको संकेत उल्लेख भएको पाइएको छ । यस हिसाबले आम मानिसको जीवनयापन तथा आय आर्जनका विषयसँग सम्बन्धित विषयहरू पत्रकारिताको प्रारम्भिक अवस्थादेखि नै सञ्चारमाध्यममा समाचारको विषय बन्ने गरेको भए पनि १५ औं शताब्दीदेखि भने विधिवत रूपमा आर्थिक पत्रकारिताको जग बसेको थियो ।

व्यावसायिक परिवारहरूको जन्मसँगै उनीहरूले आफ्नो समुदायमा आवश्यक सूचना आदान–प्रदान गर्नका लागि सूचनापत्र (न्यूजलेटर)हरू प्रकासित गर्ने गरेका थिए । यसैक्रममा जर्मनीको फुगर्स फ्यामिलीले सन् १५६८ देखि उपभोक्ताबारेको न्यूजलेटरहरू प्रकासित गर्न आरम्भ गरेका थिए । उपलब्ध अभिलेखहरूअनुसार १५६८ देखि १६०४ सम्म प्रकासित यी न्यूजलेटरहरूमा वस्तुको उपलब्धता र मूल्यको बारेमा उल्लेख गरिएको थियो, जसको मूल उद्देश्य अहिलेका आर्थिक पत्रिकाले झैं उपभोक्तालाई सुसूचित गर्नु रहेको थियो ।
१७०० मा आएर बेलायती पत्रिकाहरू, जसले व्यवसायसँग सम्बन्धित विषयहरूलाई प्राथमिकता दिइरहेका थिए, ती पत्रिकाहरूमा विज्ञापन प्रकासित हुन थाल्यो । उदाहरणका लागि सन्् १७०१ को सेप्टेम्बर १५–१७ मा लन्डन पोष्टमा उत्पादक र व्यापारीलक्षित विज्ञापन प्रकासित भएको पाइन्छ । लन्डन ग्याजेटियर, ब्रिटिस ग्याजेटीजस्ता पत्रिकाहरूले उत्पादक र व्यापारीलाई लक्षित गरेर विभिन्न उपन्यासको विज्ञापन प्रकासित गरेका थिए । यही शताब्दीमा अमेरिकी र बेलायत (इंग्ल्यान्ड)का पत्रिकाहरूले ती मुलुकका वस्तु व्यापार गर्ने कार्गोहरू आवत–जावत गर्ने बन्दरगाहहरूको समय र विवरण प्रकासित गर्न थालेका थिए ।
१९ औं शताब्दी आर्थिक पत्रिकाहरूको उदयको शताब्दी रह्यो । सन् १९०२ मा फाइनान्सियल वर्ड नामक आर्थिक म्यागजिनको प्रकाशन आरम्भ भयो । यो पत्रिका सन् १९९० सम्म चलेको थियो । सन् १९०२ मा बोस्टन न्यूज ब्यूरो र फिलाडेल्फियाको फाइनान्यिसल जर्नलका सञ्चालक क्लारेन्स ब्यारोनले द वालस्ट्रिट जर्नल किनेर चलाउन थाले । हिजोआज विभिन्न किसिमका सूचीहरू (विश्वका प्रमुख कार्यकारी अधिकृतहरू, सर्वाधिक धनाढ्यहरू, विश्वका प्रमुख ५०० कम्पनीहरू, विश्वका शक्तिशाली व्यक्तिहरू आदि) सार्वजनिक गर्ने गरेको पत्रिका फोर्ब्स  सन् १९१७ मा सुरु भएको हो । सन् १८८० मा जन्मिएका बेन्टाई फोर्ब्स यो पत्रिका आरम्भ गरेका हुन् । सन् १९०४ मा न्यूयोर्क आएपछि ‘जर्नल अफ कमर्स’ मा संवाददाताको काम गरेका फोर्बस््ले त्यतिखेर सिल्क बजारको भित्री सूचना प्रकासित गरेर व्यावसायिक पत्रकारितामा नयाँ अध्याय आरम्भ गरेको मानिन्छ ।
सन्् १९१९ मा द वालस्ट्रिट जर्नलले आफ्ना पहिलो सम्पादकका नाममा व्यारोन्स नामक साप्ताहिक पत्रिका आरम्भ गर्‍यो भने सन् १९२१ औपचारिक रूपमा द वालस्ट्रिट जर्नलको आरम्भ भयो । सन्् १९७६ मा यसले एसियन वालस्ट्रिट जर्नलको आरम्भ गर्‍यो, यही समयमा युरोपेली संस्करण पनि आरम्भ गरियो । अर्को लोकप्रिय आर्थिक पत्रिका फच्र्युनको आरम्भ भने सन् १९३० को फेब्रुअरीदेखि भएको हो ।
१८ औं शताब्दीमा आर्थिक पत्रकारिताले मूलतः स्वतन्त्र व्यापार, संघीय भूमि बिक्री, सरकारको भौतिक पूर्वाधारमा लगानी, संगठित क्षेत्रका गतिविधि (कर्पोरेट चार्टर), सुनसमर्थित मुद्रा र केन्द्रीय बैंकलाई आफ्नो मुख्य विषयवस्तु बनाएको हामी पाउँछौं । त्यसपछि अर्थतन्त्रलाई कसरी नियमन गर्ने भन्ने विषयलाई प्राथमिकता दिन थालियो । अझः विशेषतः १८ औं शताब्दीको उत्तराद्र्धमा आर्थिक पत्रिकाहरूले लगानी गाइडको काम गर्न थाले । यही समयमा हेनरी जर्जको भूमिमा एकल कर प्रस्ताव, चाँदीसमर्थित मुद्रा, आय समानताको मुद्दा, आर्थिक अवसरहरूबारे हर्टियो एलगरका अवधारणाहरू आर्थिक पत्रकारिताका विषय बन्न पुगे ।
१९ औं शताब्दीको पूर्वाद्र्धमा व्यवसायविरोधी भावना प्रबल भएर गयो । म्याककुलरजस्ता पत्रिकाहरूले यसबीचमा व्यावसायिक व्यवस्थापन, उत्पादन र वितरणको विषयलाई उठान गरे । सन् १९२० को दशकमा फच्र्युन, बिजनेश विकजस्ता पत्रिकाहरूले यस्ता विषयहरूलाई अझ बढी परिस्कृत ढंगले स्थान दिन थाले । ३० को दशकमा फैलिएको अमेरिकी आर्थिक मन्दीले आर्थिक विषयहरूमा मानिसहरूको चासो बढाइदियो । प्रायः सबैजसो पत्रिकाहरूले आर्थिक विषयवस्तुलाई उच्च प्राथमिकता दिएर छाप्न थाले । १९३० को मन्दीपछिको अमेरिकी पत्रकारिता आर्थिक समाचारमय थियो । मन्दीको समयलाई एकथरि अर्थशास्त्रीहरूले चमत्कारको दशक पनि भन्ने गरेका छन् । किनकी एम्पायर स्टेट बिल्डिङजस्तो भव्य संरचना दुई वर्षभित्रैमा तयार भएको थियो ।
आर्थिक पत्रकारिताको इतिहास निक्कै लामो भए पनि वास्तविक अर्थमा यो सन् ६० को दशकदेखि पूर्ण विकसित विशिष्टीकृत पत्रकारिता भएको मान्ने गरिएको छ । पहिलो विश्वयुद्धपछि र दोस्रो विश्वयुद्धअघि अमेरिका तथा युरोपमा पुँजी बजारको विकाससँगै विशिष्ट रूपमै आर्थिक तथा व्यावसायिक विषयवस्तुसँग जोडिएको छुट्टै पत्रकारिताको विकास भएको हो । दोस्रो विश्वयुद्धपछि अमेरिका, युरोपसहितका धेरै मुलुकको अर्थव्यवस्थाले गति पक्रियो । क्याम्पस, विश्वविद्यालयजस्ता शैक्षिक पूर्वाधारहरू बन्न थाले, सडक, रेल सञ्चालहरू बनाइए । रोजगारी बढ्न थाल्यो । पुँजी बजारको तीव्र विकास भयो । मानिसहरूको आय बढ््न थाल्यो । यसरी आर्थिक समृद्धि बढेसँगै आर्थिक पत्रकारितामा पनि १९६० देखि ७० को दशकमा उल्लेखनीय परिवर्तन आयो । एकाधीकारवादका विषयमा श्रृङ््खलावद्ध लेखहरू प्रकासित हुन थाले । सन् १९६२ मा रासेल कार्सनले प्रकासित गरेको ‘साइलेन्ट स्प्रिङ््ग’ले विषादी उत्पादन गर्ने केमिकल उद्योगहरूले जनावरलाई हानि पुग्ने तथ्य सार्वजनिक गरेको थियो । यस्तै सन् १९६५ मा प्रकासित जेसिका मिटफोर्डको ‘अमेरिकन वे अफ डेथ’ले त्यहाँको काजक्रिया (फर्नेल) उद्योगको आलोचना गरेको थियो भने सोही वर्ष प्रकासित राफेल नाडारको ‘अन सेफ अन एनी स्पिड’ले कार उद्योगको असुरक्षा मापदण्डलाई उदांगो बनाई दिएको थियो ।
यसपछि टेलिभिजनहरूमा समेत मात्र आर्थिक/व्यावसायिक समाचार तथा कार्यक्रमहरूले ठाउँ पाउन थाले । सन् १९७० मा पीबीएस च्यानलमा वालस्ट्रिट विक नामक कार्यक्रमको प्रशारण सुरु गरियो । सन् १९७० मै फाइनान्सियल न्यूज नेटवर्कले केबल प्रशारणमा हात हाल्यो । यस्तै सन् १९८२ मा ईएसपीएनले बिजनेस टाइम्स भनेर बिहानको समयमा छुट्टै कार्यक्रम प्रशारण गर्न थाल्यो, पछि यसैलाई सीएनबीसीमा गाभियो । सन् १९८० मा सीएनएनले ‘मनीलाइन’ नामक आर्थिक कार्यक्रमको प्रारम्भ गर्‍यो ।
सन् १९८० मा आएर पर्सनल कम्प्युटर (पीसी)को विकास भयो । यही दशकमा उपभोक्तामुखी उत्पादनहरू कार, टेलिभिजन, भीसीआर, वाकम्यानजस्ता वस्तुहरूको बजारीकरण व्यापक बन्न पुग्यो र सँगसँगै वस्तु विशेषसँग जोडिएका व्यावसायिक पत्रिकाहरूको प्रकासन पनि आरम्भ हुन पुग्यो ।
सन् १९९० को दशकपछि भूमण्डलीकरण तीव्र भएर गयो । औद्योगिक मुलुकका पुँजीबजारहरू तीव्र विकास हुन थाले, विकसित मुलुकहरूको संख्या बढ्न थाल्यो । विकासशील मुलुकहरू पनि आर्थिक उदारीकरणसँगै यो दौडमा हामफाले र औद्योगिक मुलुकहरूमा केन्द्रीत आर्थिक पत्रकारिताको अवयव फैलदै गयो । यही दशकको प्रारम्भमै माइकल ब्लूमबर्गले ब्लूमबर्ग बिजनेश न्यूज नामक आर्थिक समाचार सेवा सुरु गरे, जसको नाम पछि ब्लूमबर्ग न्यूज राखियो । सन् १९९१ मा सीएनबीसीले फाइनान्सियल न्यूज नेटवर्क किन्यो । इन्टरनेटको उदयसँगै वित्तीय समाचार सेवाहरू यसबीचमा अनलाइन भए । विगतमा शुल्क तिरेर वित्तीय समाचारको वायरसेवा लिनुपर्नेमा डब्लूएसजे, ब्लूमबर्गजस्ता वित्तीय समाचार सेवाहरूले ताजा जानकारी इन्टरनेटमार्फत् प्रवाह गर्न थाले । यो आर्थिक समाचारको क्षेत्रमा नयाँ क्रान्ति थियो । आर्थिक पत्रकारिताको लामो इतिहास भए पनि सन् १९८० को मध्यसम्म यसले विशिष्ट विधाका रूपमा मान्यता भने पाएको थिएन । थुप्रै सञ्चारमाध्यमहरूले यसलाई कम प्राथमिकतामा राखेका थिए । विज्ञापनसँग जोडिएका नाताले मात्र स्थान दिने परम्परा थियो, तर ९० को दशकसम्म आइपुग्दा पुँजीबजार र अझ विशेषतः निजी क्षेत्रको विकासले यसको स्थानलाई परिवर्तन गरिदियो । ‘सिक्सथ् पेज स्टोरी’ (त्यतिखेर प्रायजसो आर्थिक समाचारहरू छैटौं पृष्ठमा प्रकासित हुने गरेकाले यसलाई ‘सिक्सथ् पेज स्टोरी’ भनिन्थ्यो) बाट पहिलो पृष्ठको समाचार बन्न थाले ।
संगठनका हिसाबले सन्् १९३८ मा न्यूयोर्क फाइनान्सियल राइटर्स एसोसोसियन गठन भयो भने सन् १९६४ मा सोसाइटी अफ अमेरिकन बिजनेस राइटर्स एन्ड इडिटर्स (साबे) गठन भयो । सन् १९३० मा कोलम्बिया युनिभर्सिटीले पहिलो पटक व्यावसायिक पत्रकारिता (बिजनेश जर्नालिजम)लाई आफ्नो पाठ्यक्रम समावेश गरेको थियो, अहिले अमेरिका र युरोपका धेरै विश्वविद्यालयहरूमा बिजनेश जर्नालिजमको छुट्टै पाठ््यक्रम पढाइ हुने गरेको छ ।
नेपालमा पनि देशको जेठो दैनिक गोरखापत्रले सुरुदेखि नै उद्योग, व्यापार, व्यवसायसहितका आर्थिक विषयलाई पनि समाचारमा स्थान दिएको पाइन्छ, तर रुचिकर रूपमा भने २०३९/४० सालदेखि राष्ट्रिय समाचार समितिका बुलेटिन र गोरखापत्रमा आर्थिक समाचार प्रकासित भएको पाइन्छ । यस्तै रेडियो नेपालमा २०४२ सालमा छुट्टै आर्थिक कार्यक्रम प्रशारण हुन थालेको थियो । पञ्चायतकालमा समाज दैनिक, मातृभूमि, समीक्षा, युगधारा, गोरेटोलगायतका पत्रिकाहरूले २०३३–३५ सालको गलैंचा काण्ड, मल खरिदमा भ्रष्टाचार, २०३९ सालको १ अर्ब डलर काण्ड, २०४१ सालको विशेष कार्यक्रम’ अन्तर्गतको भ्रष्टाचार प्रकरण, २०४२ सालको सुन काण्डलगायतका थुप्रै भ्रष्टाचारसँग सम्बन्धित समाचार प्रकासित गर्ने गरेका थिए, जसलाई प्रारम्भीककालको आर्थिक पत्रकारिता मान्न सकिन्छ ।

२०४६ सालको परिवर्तनपछि देशमा निजी क्षेत्रबाट ब्रोडसिट दैनिकहरूको प्रकासन सुरु भएपछि र निजी क्षेत्र पनि संगठित रूपमा अघि बढ््न थालेपछि आर्थिक पत्रकारिता मौलाएको हो । कौटिल्य नेपालको पहिलो आर्थिक पत्रिका मान्ने गरिए पनि १९९२ साल ताका प्रकासन गरिएको उद्यम पत्रिकालाइ नेपालको आर्थिक पत्रकारिताको जननी मानिन्छ । २०३४ सालताका बुटवलका वरिष्ठ पत्रकार………ले छुट्टै आर्थिक पत्रिका सञ्चालन गर्दथे ।  हाल नेपालमा तीन वटा आर्थिक दैनिक पत्रिकाहरू प्रकाशन भइरहेका छन्, दैनिक पत्रिकामा जेष्ठताका  हिसाबले कारोबार पहिलो आर्थिक दैनिक पत्रिका हो । टेलिभिजनमा २०५० सालदेखि प्रशारणमा रहेो अर्थको अर्थलाइ डिजिटल मिडियामा आर्थिक पत्रिकाका मानक मानिन्छ ।  अहिले नेपालका प्रायः सबै सञ्चारमाध्यमहरूले आर्थिक समाचारका लागि निश्चित समय र स्थान छुट्याएको पाइन्छ ।
अहिले आर्थिक पत्रकारिता नेपाली सञ्चारकर्मको महत्वपूर्ण र अभिन्न अंग भइसकेको छ । वितेको २२ वर्षमा अर्थव्यवस्थाका पद्धतिहरूमा फरक आइसकेको छ । अर्थतन्त्रबारे जानकारी/सूचना लिने चाहना बढेर गएको छ । अर्थशास्त्र वा वाणिज्यशास्त्र पढेका प्राज्ञिकहरूदेखि सामान्य व्यावसायीहरूले समेत आर्थिक तथ्य–तथ्यांकमा विशेष ध्यान दिन थालेका छन्् । । पछिल्लो समयमा विश्वव्यापी प्रवृत्ति हेर्ने हो भने अर्थशास्त्री, सरकारी सेवाबाट सेवा निवृत्त भएका प्रशासकहरूले आर्थिक पत्रिकामा सम्पादक/सल्लाकार सम्पादक/ विश्लेषकका रूपमा काम गर्न थालिसकेका छन्। यस अवस्थामा आर्थिक पत्रकारितालाई अझ विश्वसनीय बनाउन आर्थिक पत्रकारहरूले विशेष ध्यान दिनैपर्छ । नेपालको अर्थतन्त्र अझै सानो र मिश्रित प्रवृत्तिको रहेकाले तत्काललाई ‘स्वार्थको द्वन्द्व’ सुरु भइसकेको छैन, तर त्यसो भइहालेको खण्डमा आर्थिक पत्रकारिताले कसरी सन्तुलनमा राख्ने भन्ने नै अहिलेको मुख्य सरोकारको विषय हो । आर्थिक पत्रकारहरूले आफूलाई सूचना, तथ्य–तथ्यांकबाट अद्यावधिक राख्नुपर्छ र सही विश्लेषण क्षमताको विकास गर्नुपर्छ ।
(आर्थिक पत्रकारिता जर्नल, अर्थनीतिमा प्रकासित)

Submit a Comment